उदयपुर जिल्लाकाे परिचय
2075-12-10
2075-12-10
उदयपुर जिल्लाको परिचय
पूर्वतिर साँघुरिएको र पश्चिमतर्फ फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग कि.मी. रहेको छ । भू–बनोटको आधारमा पहाड, बेसी, टार र तराई समेतको भू–भाग ओगट्ने यो जिल्ला क्षेत्रफलको हिसाबले नेपालको २० औं र कोशी प्रदेश अन्तरगत पर्दछ । जिल्लाको सिमानामा उत्तरमा मुख्यतः भोजपुर, खोटाङ्ग र ओखलढुङ्गाको केही भाग पश्चिममा मुख्यत सिन्धुली र धनुषाको केही भाग दक्षिणमा सिराहा र सप्तरी जिल्ला एवं पूर्वमा मुख्यतः सुनसरी र धनकुटा जिल्लाको केही भाग रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्लाहरू पर्दछन् । जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धारिला विकट डाँडाहरू छरिएका र पातलिएका बस्तीहरू छन् भने महाभारत फेदिदेखि चुरे श्रृङ्खला बीचमा समथर फाँटहरू र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ । त्रियुगा नदीको किनारमा चुरे र महाभारतको बीचमा रहेका भित्री मधेशका फाँटहरू मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यकाको नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से) मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि २३१० मिटर उचाई सम्म रहेको छ ।
पूर्व सुनसरी र धनकुटा जिल्ला
पश्चिम सिन्धुली र धनुषा जिल्ला
उत्तर भोजपुर, खोटाङ र ओखलढुङ्गा जिल्ला
दक्षिण सिरहा र सप्तरी जिल्ला
अक्षांश २६०३९’०” देखि २७०१’१०”उत्तरी अक्षांश
देशान्तर ८६००’ ९” देखि ८७०१’ ०” पुर्वी देशान्तर
क्षेत्रफल २०६३ वर्ग कि.मी
उचाई समुद्र सतहबाट ३६० देखि २३१० मिटर
भूगोल भित्री मधेशको भावर क्षेत्र, चुरे पहाड र महाभारत पर्वतसम्म फैलिएको
सदरमुकाम गाईघाट
स्थानीय तह ८ (नगरपालिका-४, गाउँपालिका-४)
हावापानी उष्ण र समशीतोष्ण प्रकारको हावापानी
वर्षा वार्षिक औषत २१५२ मि.मि.
तापक्रम अधिकतम ४१ डिग्री सेल्सीयस र न्यूनतम १६ डिग्री सेल्सीयस
खोला नदीहरु: नेपालकै सबैभन्दा ठूलो सप्तकोशी नदी, सुनकोशी, रसुवा, त्रियुगा, बरुवा, कंग, द्वार, तावा, बैद्यनाथ, ककरु, कमला आदि
